गुरुङ

गुरुङ

को हुन् गुरुङ ?
गुरुङहरू अन्नपूर्ण हिमाल र माछापुच्छ«े हिमालको काख तथा हिमचुलीको दक्षिण पाखोमा बसोबास गर्ने जाति हुन् । गुरुङहरू नेपालमा सूचिकृत ५९ आदिवासी जनजातिहरूमध्येका एक हुन् । तिब्बती शब्द ग्रोङ अर्थात् खेतीवालबाट गुरुङ भनिएको मानिन्छ । गुरुङहरू आफूलाई तमू भन्दछन् । तमू भनेको तिब्बती भाषामा घोडचढी भन्ने अर्थ लाग्दछ । एसियाका ऐतिहासिक हुण जातिका मानिसलाई नै गुरुङ हुन् भन्ने पनि गरिएको छ । गुरुङहरूको मुख्य बसोबास क्षेत्र कास्की, लमजुङ, मुस्ताङ, मनाङ, पर्वत र स्याङजा जिल्ला हो । तर, हाल नेपालका विभिन्न जिल्लालगयात विदेशमा पनि उनीहरूको बसोबास रहेको छ । २०६८ सालको जनगणनाअनुसार गुरुङहरूको जनसङ्ख्या ५,२२,६४१ रहेको छ ।
गुरुङहरू विशिष्ट संस्कृतिका निमित्त प्रख्यात छन् । उनीहरूमा मामाचेला फुपुचेली विवाह दुवै चल्दछ । तर, यो प्रचलन बिस्तारै लोप हुँदै गएको छ । गुरुङहरू मर्दा पोल्ने वा गाड्ने लामा, पच्यु, ध्याब्रीको निर्देशनअनुसार गर्दछन् । उनीहरूको मृत्यु संस्कार लामो र बिस्तृत हुन्छ । संस्कारमा अनिवार्यरूपमा मावलीलगयात अन्य नातागोताहरू संलग्न हुन्छन् । मनोरञ्जन प्रिय गुरुङ समुदायमा सोरठी, घाँटु नाच नाच्ने चलन छ । साथै, सामुदायिक वा घरपरिवारसम्बन्धी काम, सामुहिक निर्णय गर्न र नयाँ पीढीलाई अघिल्लो पुस्ताका सीप सिकाउन हरेक दिनजसो रोँधी बस्ने चलन रहेको छ ।

गुरुङहरूको मौखिकशास्त्रलाई प्ये र परम्परागत धर्मलाई प्ये–ताँ, ल्हु–ताँ भनिन्छ । यही मौखिक शास्त्रबाट संस्कृति तथा परम्परा चलिआएका छन् । गुरुङहरू प्रकृति पूजक वा बोन धर्मावलम्बी मानिन्छ । तर, पछिल्लो समयबाट उनीहरू बौद्ध धर्म अँगाल्न पुगेका हुन् । उनीहरूको पर्व, उत्सव, पूजाआजाका पद्धतिका साथै जन्म, मृत्यु, विवाह संस्कारहरू बोनधर्म र वौद्ध धर्मअनुसार सम्पन्न हुन्छ । ल्होसार गुरुङहरूको सबैभन्दा ठूलो पर्व हो । गुरुङहरूको मुख्य परम्परागत व्यवसाय शिकार खेल्ने, पशुपालन अर्थात् भेंडापालन र खेती किसानी भएपनि पछिल्लो समयमा विदेशी सेनामा कार्यरत रहेका छन् ।

भाषा
गुरुङ (तमू) जातिले बोल्ने भाषालाई गुरुङ (तमू) भाषा भनिन्छ । गुरुङ (तमू) भाषा तिब्बत–बर्मेली भाषा परिवारको हो । मूल थलोमै बसोबास गर्दै आएका गुरुङ (तमू)ले तिब्बत–बर्मेली भाषा नै बोल्दछन् । तमूहरू वर्ण व्यवस्थाअन्तर्गतका जाति होइनन् । १५औं शताब्दीमा गण्डकी प्रदेशमा गुरुङ (तमू)को राज्या थियो । तर, पृथ्वीनारायण शाहको नेपाल एकीकरणमा ती सबै नेपालमा एकीकृत भए ।

सह–प्राध्यापक डा.जगमान गुरुङ (तमूवानको ऐतिहासिक बृतान्त पृ.नं. ५७)का अनुसार गुरुङ भाषा चिनियाँ तिब्बती भाषा परिवारअन्तर्गतको भाषा हो । गुरुङ भाषाको माउ भाषा तिब्बती भाषा हो । त्यसकारण गुरुङ भाषालाई तिब्बती भाषाबाट विकासित भाषा मानिएको हो । नेपालका चिनियाँ तिब्बती भाषा परिवारका विभिन्न भाषा समूहमध्ये थकाली भाषा र तामाङ भाषासँग गुरुङ भाषाको धेरै नजिकको सम्बन्ध छ । संस्कृत भाषाबाट प्राकृत भाषा हुँदै खस–नेपाली भाषाको विकास भएजस्तै तिब्बती भाषाबाट मुस्ताङको बाह्रगाउँले तथा उपल्लो मनाङका बासिन्दाहरूको भाषा हँुदै थकाली, गुरुङ र तामाङ भाषाको विकास भएको हो । उपल्लो मुस्ताङको समरसम्मका बासिन्दाहरू पानीलाई क्यु भन्दछन् । र, त्यहाँदेखि माथि मुस्ताङ सात थपौलाका बासिन्दाहरू पानीलाई छ्यु भन्दछन् । अतः मुस्ताङ बाह्रगाउँको समरगाउँ बाह्रगाउँले र तिब्बती भाषाको सीमारेखा हो । यसैगरी मुस्ताङको थाक ठिनीगाउँ बाह्रगाउँले र तिब्बती भाषाको सीमारेखा हो । यसैगरी मुस्ताङको थाक ठिनीगाउँ बाह्रगाउँले भाषा र थकाली भाषाको सीमारेखा हो । नेस्याङ उपत्यकाको मनु (मनाङ) गाउँ मनो भाषा र तिब्बती भाषाको सीमारेखा हो । यसैगरी मनाङको ताललाई मनाङे भाषा र गुरुङ भाषाको सीमारेखा मान्नु पर्दछ । पूर्वतिर धादिङको आँबुखोलालाई गुरुङ भाषाको सीमारेखा मानिएको छ । पश्चिमतिर भुरुङ्दी खोलालाई गुरुङ र मगर भाषाको सीमारेखा मानिन्छ । तर, पर्वत जिल्लाको अरमादीलाई गुरुङ र मगर भाषाको सीमारेखा भनिन्छ । कालान्तरमा थकाली भाषा र तामाङ भाषामा हिमाली क्षेत्रका बासिन्दाको भाषा र गुरुङ भाषामा खस भाषाले गहिरो प्रभाव पारेको पाइन्छ ।

गुरुङ (तमू) भाषाका वक्ता
वि.सं. २०६८ को जनगणनाअनुसार गुरुङहरूको कुल जनसङ्ख्याको १.२ प्रतिशत अर्थात् २,६४,९४,५०४ जनामध्ये ३,१७,९३४ जनाले मात्र गुरुङ (तमू) भाषा बोल्दछन् । तर, गुरुङ जातिको आधिकारिक संस्था तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका अनुसार जनगणनाको आँकाडा देखाइएको सङ्ख्याभन्दा गुरुङ (तमू) भाषा बोल्नेको सङ्ख्या धेरै रहेको छ ।
गुरुङ (तमू) भाषा नेपाल, भारत, भुटान, म्यानमार (बर्मा)लगायत रोजगारी र विभिन्न कारणले संसारभर छरिएर रहेका गुरुङहरूले धेरथोर बोल्दछन् ।


Like us on Facebook