जिरेल

जिरेल

को हुन् जिरेल ?

पृष्ठभूमि
दोलखा जिल्लाको जिरी गाविस तथा त्यस वरपरका गाविसमा आदिमकालदेखि बसोबास गर्दै आएका किरात जातिभित्रको एक शाखाका रूपमा परिचित जाति हुन् जिरेल । आफ्नै भाषा, रीतिरिवाज तथा संस्कार, संस्कृति रहेको यस समुदायको उद्गम थलो हालको दोलखा जिल्लाको जिरी गाविसलाई मान्दै आएको छ । परापूर्वकालमा किरातीहरू नेपालको पूर्वी पहाडहरूमा बसाइँ सर्दै आउने क्रममा सुन्दरवीरका पाँच भाइ छोरामध्ये माइला सुरसिंहका सन्तान हालका जिरीलगायतका क्षेत्रमा आएर बसोबास गर्न थाले भने केही भाइ भने हालको दोलखा जिल्लामा पर्ने सुरी गाविसतर्फ गएर बसोबास गर्न थाले । पछि यिनै किरातीका सन्तानलाई ठाउँ विशेषको नामले जिरीमा बस्नेलाई जिरेल भनेर चिनिन थाल्यो । उनीहरूलाई जिरेल जातिको नामले चिनिन्छ । यसरी जिरेल जातिको उत्पत्ति भएको मानिन्छ ।

किराती जाति भएकै कारण हाल पनि जिरी गाविसमा किराती खासा (घरघडेरी), किराती थुर्सा (चिहान) नामका स्थानहरू छन् । ती स्थानहरूमा किरात जातिले त्यस बेला चलाउने वाण, तीर तथा ढालहरू पनि भेटिन्छन् । अर्कोतर्फ किरात धर्म (प्रकृति पूजा)मा वायु, आगो, पृथ्वीजस्ता प्रकृतिलाई पुज्ने चलनअनुसार नै जिरेल जातिले पनि ती वस्तुको पूजा गर्दै आएका छन् । यिनै चलनलाई जिरेल जातिले आफ्नो कुल देवताको रूपमा ‘च्येन छ््योत्च्या’, ‘छ््योमु छ््योत्च्या’, ‘नाङ्गी ल्हा’, ‘चारमाने’, ‘भूमे’ नामबाट पुज्दै आएका छन् ।

जिरेलको थातथलो
जिरेलहरूको बसोबास विषेशतः दोलखा जिल्लाको जिरी, जँुगु, क्षेत्रपा, भाङ्खर्क, भ्mयाकु, कावे्रलगायतका गाविसमा रहेको छ । त्यैसगरी सिन्धुपाल्चोक जिल्लाको चोकटी, कर्थली, घोर्थली, बाह्रबीसे, भुवनथली, ट्याङथलीलागयतका क्षेत्रमा बसोबास रहेको छ । बसाइँ सर्ने क्रममा उनीहरू चितवन, सिन्धुली, मकवानपुर, बारा, पर्सालगायत जिल्लामा गएर बसोबास गरेका छन् । यस्तै, भारतको दार्जिलिङ, सिक्किम, कोलकताका साथै भुटान, मालदिभ्सलगायतका मुलुकमा समेत उनीहरूको बसोबास रहेको छ । 

भाषा, संस्कार र रीतिरिवाज
जिरेलहरूको आफ्नै भाषा, रीतिरिवाज, परम्परा, संस्कृति रहेको छ । जिरेलले बोल्ने भाषालाई ‘जिरेल भाषा’ भनिन्छ । यो भाषा भोट–बर्मेली भाषा परिवारभित्र पर्दछ । दोलखा जिल्लाका करिव ९५ प्रतिशत जिरेलहरू जिरेल भाषा बोल्दछन् । अन्य जिल्लामा भने पछिल्लो पुस्ताका जिरेलहरूले यो भाषा भुल्दै गएका छन् । यिनीहरूको आफ्नो छुट्टै लिपि छैन ।
पहिले पहिले जिरेलहरूले कुनै धार्मिक कार्य, रीतिरिवाज गर्दा जिरेल पुरोहित फोम्बोको प्रयोग गर्दथे । जिरेलहरूले किरात धर्मअनुसार नै कुल देवता पुज्ने चलन रहेपनि उनीहरूले हिन्दू धर्मका चाडपर्वलाई पनि समान आस्थाका साथ मनाउँदै आएको पाइन्छ । जिरेलहरूले आजकल बौद्ध धर्मअनुसार नै जन्म, विवाह तथा मृत्यु संस्कार गर्दै आएका छन् । जिरेलहरूले मृत्यु संस्कारमा लामाद्वारा घेवा गर्दछन् । घेवाको अन्त्यमा मृतकको आत्मालाई आफन्तको शरीरमा बोलाएर कुरा गर्ने चलन छ । जसलाई ‘सेन्सिङ’ भनिन्छ । सेन्सिङ आएको बेला कुनै लेनदेन भए सोध्ने र भविष्यमा यसो गर्नु, उसो गर्नु भनी मृतकको आत्मले अर्ति दिने चलन छ । र, अन्तमा बिदा मागेर छुट्टिनु पर्दछ ।

जिरेलहरूले दशैं, तिहार, सत्यनारायण पूजा हिन्दू धर्मअनुसार गरेपनि जन्म, विवाह, मृत्यु संस्कार बौद्ध धर्मअनुसार गर्दछन् । अर्थात् लामा र जिरेल पुरोहित फोम्बो दुवै प्रयोग गर्दछन् । जिरेलहरूले प्राकृतिको पूजा, बुद्ध पूर्णिमाका दिन सकदका, दशैं, तिहार, माघे संक्रान्ति, साउने संक्रान्ति आदि मनाउने गर्दछन् । त्यसैगरी बज्यु पुछ्ने, आइतावारे पूजा गर्ने, कुल देवता “च्येन पुजा” गर्ने, नाङ्गी ल्हा, भूमे पूजा, चेरम्जो पूजा, ह्यूल्सा पूजा, छ्योमु पुछ्ने, चारमाने पुज्नेजस्ता पूजा पनि गर्दछन् । नयाँ अन्न खानुअघि किरात धर्मअन्तर्गत आगो, वायु र पृथ्वीलाई चढाएर मात्र खाने चलन छ ।

पोल्दाक खाने जिरेल जातिमा मात्र रहेक एक विशेष प्रचलन हो । भुटेर पिँधेको गहुँको सातुसँग गहँुको कलिलो (गुलियो) छ्याङ मुछेर पोल्दाक बनाइन्छ । खासगरी कोदो रोप्दा खेतालालाई खाजाको रूपमा पोल्दाक दिने चलन छ । पोल्दाक बनाउँदा प्रतिव्यक्ति एक माना पिठो हालेर डल्लो बनाइन्छ । पोल्दाक छ्याङ वा कुनै अचार अथवा बाबरी (सुगन्धित जडिबुटी, पुदिना), खोर्सानी, नुन पिँधेर बनाएको अचारसँग खाइन्छ । अन्तमा पोल्दाकको डल्लो मन परेको व्यक्ति वा रमाइलोका लागि साना टुक्रा बनाएर हिर्काएर रमाइलो गर्ने चलन पनि छ । यसरी हिर्काएर रमाइलो गर्दा माया बसेर घरबार बसालेको उदाहरण पनि जिरेल समाजमा पाइन्छ ।

जिरेल जातिको आफ्नै भेषभूषा तथा गरगहना छ । पुरुषले दौरा, सुरुवालमाथि पटुका बाँधी दापसहितको खुकुरी भिरेर त्यसमाथि लुकुनी लगाउँछन् । महिला रंगीन चौबन्धी चोलो र फरिया लगाई त्यसमाथि गम्सा (पछौरी) ओड्छन् । चारन्नी, अठन्नी, कम्पनी माला, नाँडीका बाला, ढुङ्ग्री, बुलाकी आदि जिरेल महिलाले लगाउने गरगहना हुन् ।

जिरेलहरूको मुख्य पेशा कृषि हो । धेरैजसो जिरेलहरू कृषि पेशामै निर्भर छन् । गाई, बाख्रा, भैंसी पाल्ने तथा मकै, कोदो, धानजस्ता खाद्यन्नको बाली लगाउने गर्दछन् । हाल केही जिरेलहरू व्यापार व्यवसाय तथा सरकारी सेवामा रहेका छन् । जिरेलहरू मजदुरी गर्न काठमाडौं तथा भारतको सिक्किम, गान्तोक, दार्जिलिङजस्ता सहरमा जाने गरेको छ ।
सामाजिकरूपमा मिलेर बस्न रुचाउने जिरेलहरू संयुक्त परिवारमा बसोबास गर्दछन् । तर, आजकल केही विवाहित जोडीहरू परिवारबाट छुट्टिएर बसोबास गरेको पाइन्छ ।


Like us on Facebook