किसान

किसान

को हुन् किसान ?

नेपालको सुदूरपूर्वी जिल्ला झापामा मात्र बसोबास गर्ने किसान जाति तराई मुलको आदिवासी जनजाति हो । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार सूचिकृत ५९ आदिवासी जनजातिहरूमध्ये यो जातिलाई लोपोन्मुख समूहमा राखिएको छ । राज्यको मूल प्रवाहबाट बहिष्करणमा परेको यस जातिलाई नेपालको आदिवासी भूमिपुत्रको रूपमा विभिन्न विद्वानहरूले चित्रित गरेका छन् ।

वि.सं. २०६८ को जनगणनाअनुसार किसानहरूको जनसङ्ख्या १,७३९ रहेको छ । आर्थिक, सामाजिक, राजनीतिक तथा शैक्षिक कारणहरूले पिछडिएको यस जाति नेपालमा लोपोन्मुख अवस्थामा रहेका छन् । उनीहरूले मान्ने धर्म, संस्कृति, परम्परा इत्यादिलाई हेर्दा यस जाति प्रकृतिपूजकजस्तो देखिन्छ । औलो नलाग्ने जाति भनेर चिनिएको किसानहरू शुरुमा जंगल फँडानी गरी बसेका थिए । अन्य जातजातिभन्दा छुट्टै बसोबास गर्न चाहने यो जाति हाल अन्य जातिको बसाइँंसराईमा आएको तीव्रताले गर्दा आफ्नो पुख्र्यौली भूमिबाट विस्थापित हुन बाध्य छन् । साथै, अन्य संस्कृतिको प्रभावले यो जातिको धर्म, संस्कृति पनि लोप हुने अवस्थामा पुगेको छ । हाल यिनीहरू झापा जिल्लाको शान्तिनगर, धाइजन, बाहुनडाँगी, अनारमनी गाविस र मेचीनगर नगरपालिकामा बसोबास गर्दै आएका छन् ।

भाषा
किसानहरूले बोल्ने भाषालाई ‘किसान भाषा’ भनिन्छ । यो भाषाको आफ्नो छुट्टै लिपि छैन । तसर्थ, यिनीहरू लेख्य परम्पराको रूपमा देवनागरी लिपि नै प्रयोग गर्दछन् । वि.सं. २०५८ को जनगणनाको तथ्याङ्कअनुसार किसान भाषाको वक्ता ४८९ जना रहेको छ । तर, किसान भाषाका वक्ता उक्त सङ्ख्याभन्दा बढी रहेको किसान जातिको आधिकारिक संस्थाको धारणा रहेको छ । यो भाषा किसान समुदायबाहेक झापा जिल्लाका अन्य जातजाति (मुण्डा, खडिया, उराँव, रौतिया, कवँर, मालपाहाडे, ग्वाल, करुवा)ले पनि बोल्दछन् । यद्यपि, उनीहरूमध्ये मुण्डा, खडिया र उराँव जातिको आफ्नै मातृभाषा छ । तसर्थ, यो भाषा उल्लिखित आदिवासीहरू माझ सम्पर्क भाषाको रूपमा स्थापित भएको पाइन्छ । किसान समुदायले बोल्ने भाषालाई भाषाविद् मार्क टुरिन र डा.योगेन्द्रप्रसाद यादवले द्रविड परिवारअन्तर्गत राखेका थिए (हेर्नुहोस– टुरिन र यादव,२००५) । तर, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान जावलाखेल, ललितपुर र त्रिभुवन विश्वविद्यालय भाषा विज्ञान केन्द्रीय विभाग कीर्तिपुरले संयुक्तरूपमा गरेको अभिलेखिकरणले किसान भाषा भारोपेली परिवारअन्तर्गत पर्दछ भन्ने पुष्टि गरेको छ । यस भाषाको विभिन्न सामग्रीहरू गोरखापत्र दैनिकको नयाँनेपाल पृष्ठमा महिनामा दुई पटक प्रकाशित हुँदै आएको छ । यस भाषा नेपालबाहेक भारत र भुटानमा पनि बोलिन्छ ।


Like us on Facebook