कोइँच–सुनुवार

कोइँच–सुनुवार

को हुन् कोइँच–सुनुवार ?

रोलवालिङ हिमश्रृङ्खलालाई मूल बनाएर दक्षिण–पूर्व बग्ने मध्य–पूर्वी नेपालको सुनकोशी, दूधकोशी, तामाकोशी, लिखुकोशी र यसका सहायक नदी खिम्ती, येलुङ, मोलुङ, सोलुङ नदी वरपरका भू–भाग परापूर्वकालदेखि खनीखोस्री, खोरिया फाँडेर बस्ने पहिलो बासिन्दा हुन् आदिवासी जनजाति ‘कोइँच’ । ७० भन्दा बढी विभिन्न थर, उपथर भएका ५५,७१२ (०.२१० प्रतिशत) कुल जनसङ्ख्या रहेको आदिवासी जनजाति कोइँचहरूको मातृभाषालाई ‘कोइँच लोः’ र ‘मुकदुम’ दर्शनको आधारमा वा प्रक्रियानुसार परम्परागतरूपमा मान्दै, विश्वास गर्दै आएको धर्मलाई ‘किरात धर्म’ भन्दछन् । खस भाषामा वा विद्यमान समाजमा सुनुवार, सुनवार, मुखिया, शिकारी, मारपाचे किराती भनेर चिनिएका यी आदिवासी जनजाति कोइँचलाई नेपाल सरकार, स्थानीय विकास मन्त्रालय, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ को अनुसूचि १ मा भने ‘सुनुवार’ आदिवासी जनजातीय नाम दिएर ५९ आदिवासी जनजातिमध्ये एक आदिवासी जनजातिको रूपमा सूचिकृत गरेको छ । यसैले उनीहरूको प्रतिनिधिमुलक संस्था सुनुवार सेवा समाजले ‘सुनुवार’ आदिवासी जनजातीय नामलाई किरात ‘कोइँच’ नाम सच्याउनु पर्ने जिकीर गर्दै आए अनुसार पुनः सूचिकरण कार्यदलमा किरात कोइँच नाम सच्याउन मन्त्रिपरिषद्मा प्रतिवेदन पेश गरेको छ ।

साबिक १२ किपट १६ थुमका आदिवासी कोइँच होपोहरूको सामुहिक नेतृत्वमा सञ्चालन हुने आफ्नो परम्परागत संस्था ‘कोइँच चुप–लु’ वर्तमान अवस्थामा सांस्कृतिकरूपमा मात्र सीमित रहेको हुँदा आदिवासी जनजाति कोइँचको हकहितका लागि बोल्ने, वहस–पैरवी गर्ने प्रतिनिधिमुलक संस्था, २०४४ सालमा स्थापित सुनुवार सेवा समाज, काठमाडौं महानगर पालिका वडा नं. ३५, कोटेश्वर; नेपाल सरकारको संस्था दर्ता ऐन २०३४ अन्तर्गत २०४७ सालमा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भई (का.जि.द.नं. ः ९४÷०४७÷४८) सक्रियरूपमा सञ्चालित छ । मानव विकास सूचाङ्कको वर्गीकरणमा सीमान्तकृत समूहमा पर्ने आदिवासी जनजाति कोइँचहरूको हालसम्म राज्यको कुनै पनि नीति निर्माण तथा कार्यान्वयन निकायमा उपस्थिति वा पहुँच रहेको पाइँदैन ।

पहिरन

पुरुष :

सुनुवार पुरुषहरू सप्तरङ्गी वेशभूषामा सजिन्छन् । उनीहरू दौरा-सुरुवाल र ढाकाटोपी लगाउँछन् । सुनुवार पुरुषहरू गलामा सप्तरङ्गी जाली रुमाल भिर्छन् । उक्त रुमालका कारण अदृश्य शक्तिको दुष्प्रभावबाट बच्न सकिने विश्वास गरिन्छ । सुनुवार पुरुषहरू कम्मरमा 'कम्मरी' कस्छन् भने कम्बरीमा थैलो राखिएको हुन्छ । उक्त थैलोमा पैसा राख्ने पुरानो चलन छ । सुनुवार पुरुषले कालो स्टकोट लगाउनैपर्छ । कम्मरमा सबैले खुकुरी भिर्छन् । खुट्टामा सामान्य किसिमको जुत्ता लगाउने चलन छ ।

महिला :

सुनुवार महिलाहरू गुन्यू-चोली लगाउँछन् भने पैसाले सजिएको कालो, सेतो तथा रातो रंगको भोटो लगाउनैपर्छ । टाउकोमा 'कुप्नी' सिउरिनुपर्छ । 'कुप्नी' अनुशासनको प्रतीक मानिन्छ । छातीमा तक्मा जस्तो 'लुजेक्यो' भिर्नुपर्छ । कम्मरमा पटुकाका साथमा थैली राख्नुपर्छ । पटुकासँगै 'किप्सुर फेने' बाँध्नुपर्छ जसलाई विवाहितले दुईपट्टि र अविवाहितले एकापट्टि झुन्ड्याउँछन् । 'क्योङ्ग बाँस' अर्थात विनायो बोक्नैपर्छ । गरगहनाका रूपमा चारआनी-आठआनी भिर्नुपर्छ । पाखुरामा बागमुखे अर्थात् काँडेचुरा लगाउनुपर्छ । खुट्टामा चाँदीको कल्ली लगाइन्छ । 


Like us on Facebook