ल्होमी (शिङसावा)

ल्होमी (शिङसावा)

को हुन् ल्होमी (शिङसावा) ?

संखुवासभा जिल्लाको उत्तरी भाग जहाँ अरुणनदी तिब्बतबाट नेपाल प्रवेश गर्छ, त्यसै इलाकालाई स्थानीयरूपमा भौगोलिकताको आधारमा भोटखोला अनि वरुण उपत्यका तथा माथिलो अरुण उपत्यका भनेर भनिन्छ । अरुणनदीको गहिरो गल्छीको वरपरका भिराला पाखाहरूमा बसोबास गर्दै आएका समुदायलाई ल्होमी भनिन्छ । उनीहरूलाई सिङसावा वा कारभोटेजस्ता उपनामले पनि चिनिन्छ ।

तिब्बती भाषाअनुसार ल्हो भन्नाले दक्षिण दिशा र मी भन्नाले मानिस (स्वमित्व बोधक शब्द) भएर भोट (तिब्बत)को दक्षिणी भू–भागबाट आएको मानिसलाई ल्होमी भन्ने शाब्दिक अर्थ लाग्दछ । त्यसैले ल्होमीहरू तिब्बतको दक्षिणी भू–भागबाट निस्केर घुमन्ते जीवन हुँदै माथिल्लो अरुण उपत्यकामा परापूर्वकालदेखि बस्दै आएका यस भूमिका आदिवासी जनजाति हुन् । माथिल्लो अरुण उपत्यका क्षेत्रलाई आफ्नो थातथलो बनाइ बसोबास गर्दै आएका ल्होमीहरूको आफ्नै पहिचान र मौलिक संस्कृति छ । छुट्टै भाषा, लिपि, धर्म, संस्कृति, रीतिरिवाज, रहनसहन र भेषभूषा छन् । यस जातिले ल्होकेत (ल्होमी) भाषा बोल्दछ । ल्होमीहरू गीत गाएर नाच्दा दिल खोलेर नाच्छन् । उनीहरू पित्तलको बिँड भएको खुकुरी भिर्छन् । छिरिङ च्यिङगप टोपी लगाउँछन् । महिलाहरू पनि दिल खोलेर नाच्छन् । उनीहरूले स्यमुङडोङ्स्य (एक प्रकारको टोपी), दोचा (एक प्रकारको जुत्ता), आङ्गी र पाङ्तेन लगाउँछन् ।

नेपाल सरकारको आदिवासी जनजाति ऐन २०५८ को अनुसूचिमा ल्होमी (शिङसावा) भनेर सूचिकृत यस जातिको अर्को वैकल्पिक नाम शिङसावा हो । यसको अर्थ खोरिया बारीमा खेती गर्ने मानिस भन्ने हुन्छ । खस नेपाली भाषीहरूले विशेष गरी गोरखा राज्यदेखि यता भोटे (काठ भोटे) भन्ने गरेको पाइन्छ । त्यसैले यस जातिमा नागरिकता, जग्गाधनी पूर्जा इत्यादिमा भोटे लेख्ने चलन रहेको पाइन्छ । करिव ३० हजारको हाराहारीमा जनसङ्ख्या रहेका यस जाति नेपालको सङ्खुवासभा जिल्लाको हटिया, चेपुवा, किमाथाङ्का र पावाखोला गाविसको विभिन्न गाउँहरूमा बसोबास गर्दछन् । यही ठाउँ उनीहरूको मूलथलोको रूपमा रहेको छ । ल्होमीहरू नेपालबाहेक तिब्बतको लुङदेक (डेन्दाङ) क्षेत्रमा र भारतको दार्जिलिङ, कालिम्पोङ र सिक्किममा पनि बसोबास गर्दछन् । हाल नेपालका विभिन्न सहरहरू जस्तै खाँदबारी, काठमाडाँै, धरान, हिले, इलाम आदिमा ठाउँमा बसाइँ सरी बसोबास गर्दै आएका छन् ।

ल्होमी (शिङसावा) जातिका थर
थिकेपा थर : थिकेपा ल्होमी जातिभित्र सबैभन्दा धेरै जनसङ्ख्या भएको थर हो । थिकेक ज्य गुप्च्यु (१९० थर) यस थिकेपा थरका सबैभन्दा धेरै उपथरहरू हुन्छन् । यस क्षेत्रमा सबैभन्दा पहिले यी जातिहरू आएर बसोबास गरेका हुन् । उनीहरू तिब्बतको थिकेक ल्होगाक भन्ने ठाउँबाट आएका थिए । थिकेपा थरको उपथरहरूमा पेज्यपा, स्याङदरा, हमोवा, सेक्नेपेदे, पुबुकाम्मा, पेछिरिङ, उच्येनटेस्यी, थुज्यिब, भिस्यिङच्येम्म, ढोङदेप्प, ढोङमेप, रप्तेम्ब, इगोङम, बक्हुक्षा, लोङमिक्म, घोङमा, गोम्बरेक्सुम्ब, झ्यस्यिङच्येम्म र स्यालिङ हुन् ।

नुप्पा थर : ल्होमी जातिभित्र दोस्रो धेरै थर नुप्पा अन्तर्गत पर्दछन् । नुप्पाहरू खुच्येन्, नाङ्बा तथा खामदिर्ग भन्ने ठाउँबाट आएर बासोबास गरेका हुन् । नुप्पाहरू नौवटा उपथरभन्दा बढी हुन्छन् । नुपाहरूका पुर्खा पुबु चिन्ज्युलुक्म हुन् । नुप्पाका उपथरहरू इगव्क्पा, हमुवा, सोनरिन्ज्येन (ढोङदेप्पा), झ्यीलवा, याङजनुपु, ज्येज्यबा, सेत्च्या, गम्बुक्पा, लालिन्सबा, ल्हामुछिरिङ, लोबाङ, पेरुव, माङलोक्त, ल्हेज्युङ, युरिम्ब, मनिभम्बा, किमछाङा, तागुव र ठुलुथाङग हुन् ।

पोङस्युव थर: पोङ्स्युव थरीहरू यस क्षेत्रका बासिन्दा हुन् । एक भनाइअनुसार एक लामाको सहायक भई माथिबाट आउँदा आउँदै उनीहरू यही बस्न थालेका थिए ।

ढागुव थर : यो थर लामा पुरोहितको थर हो । यिनीहरू सिकार खेल्दै पहिला हटिया गाउँ हुँदै पछि छिगुलुङ गाउँमा बस्न थालेका हुन् ।

खुम्बुवा थर : यस थरीका ल्होमीहरू तलतिरको अरुणपारि खुम्बुवानबाट आई बसोबास गर्न थालेका हुन् । त्यसैको आधारमा उनीहरूको थर खुम्बुवा रहेको पाइन्छ ।

लिङबो थर : सेक्सुम गाउँमा बसोबास रहेका लिङबो थरका ल्होमीहरू लिम्बुवानको लिङबोजोङ भन्ने तलतिरको ठाउँबाट आएका हुन् ।

फेक्नाक थर : यिनीहरू तलतिरको पाथीभरा गाविसको उलिङ भन्ने गाउँबाट आई बसोबास गरेका हुन् । त्यसैले यिनीहरूलाई उलिङफेक्पा पनि भन्ने गरेको पाइन्छ ।

मोनाङ थर : यी थरी ल्होमी जाति हेदाङनाको रुदाङतिरबाट गाईवस्तुसहित आएर बसोबास गरेका हुन् । यसरी नै शिँबो थरका ल्होमी पाथीभरा गाविसको उलिङबाट आई हटियागोलामा बस्न थालेका हुन् । पछिल्लो समय भोटबाट आई यो क्षेत्रमा बस्न थालेका अर्को ल्होमी जाति भेच्याब थरी हुन् । लोरुङ डाडापाङमाबाट आई साच्ये गाउँमा बसेका हुन् । खाम्बा तथा गाङतोक्पा पनि माथिबाट धेरैपछि मात्र आई बसोबास गरेका एक थर समूहमा पर्दछ । नाभा, च्यावा, ङोम्बा आदि सोलुखुम्बु क्षेत्रबाट आई यस क्षेत्रमा बस्न थालेका एक थर समूहहरूमा पर्दछन् ।

संस्था : ल्होमी जातिको प्रतिनिधिमुलक जातीय संस्था ल्होमी (शिङसा) कल्याण केन्द्र हो । यो नेपाल आदिवासी जनजाति महासंघमा आवद्ध छ । यस्तै, नेपाल ल्होमी समाज (नेल्होस) संस्था ल्होमीहरूको भाषा, साहित्य र सामाजिक विकासमा समर्पित गैरसरकारी संस्था हो ।

ल्होकेत् भाषा : ल्होमी (शिङसावा) समुदायले बोल्ने भाषालाई ल्होकेत (ल्होमी भाषा) भनिन्छ । ल्होकेत भाषा भोट–बर्मेली भाषा परिवारअन्तर्गतको भाषा हो । यस भाषा संखुवासभा जिल्लाको उतरी भेगमा पर्ने माथिल्लो अरुण उपत्यकामा बसोबास गर्ने ल्होमी (शिङसावा) जातिले बोल्ने भाषा हो ।

स्थानीयरूपमा भोटखोला भनेर चिनिने नेपालको उत्तर पूर्वी इलाकामा अवस्थित माथिल्लो अरुण उपत्यका तथा वरुण उपत्यका नै यस जातिको ऐतिहासिक भौगोलिक थातथलो हो । त्यसैले ल्होकेत (ल्होमी) भाषा संखुवासभा जिल्लाको उत्तरी भेगको हटिया, चेपुवा, किमाथाङका र पावाखोला गाविसमा बोलिने एक महत्वपुर्ण भाषा हो ।

शिक्षा मन्त्रालय अनौपचारीक शिक्षा केन्द्र सानोठिमीबाट स्वीकृत लिएर नेपाल ल्होमी समाज (नेल्होस)ले ल्होमी भाषामा प्रौढ कक्षाको पाठ्यपुस्तक तयार गरेको छ । उक्त पाठ्यपुस्तकलाई सन् २०१० देखि ल्होमी गाउँमा द्विभाषिक साक्षरता कक्षा कार्यक्रममा प्रयोग गर्दै आइएको छ ।

यसबाहेक एक दर्जनभन्दा बढी ल्होमी भाषामा प्रौढ शिक्षाका शैक्षिक सामग्रीहरू, कथा, कविता, परम्परागत गीत, आधुनिक गीति एल्बम, बालकथा, उखानटुक्का, स्वास्थ्य सामग्री, पम्प्लेट, गोजी  किताब, वर्णमाला, थोराङकाच्येन पत्रिका र पात्रोहरू प्रकाशन भएका छन् । 

त्यसैगरी ल्होमी भाषा लेखन तालिम पनि आयोजना भएका छन् । थोराङकाच्येन पत्रिका र गोरखापत्र दैनिकको नयाँ नेपालको पृष्ठमा ल्होमी भाषाको सामग्री प्रकाशित हुँदै आएका छन् ।
राष्ट्रिय जनगणना २०६८ अनुसार ल्होकेत् भाषा बोल्नेको सङ्ख्या १,६१४ जना रहेको छ । तर, नेपालमा रहेका १५,००० ल्होमी सबैले मातृभाषा बोल्न जान्दछन् ।
ल्होकेत् भाषा नेपालबाहेक भारतको पश्चिम बंगाल, दार्जिलिङ र संखुवासभा जिल्लाको उत्तरीभेग किमाथाङका गाविसपारि चीनको स्वाशासित क्षेत्र तिब्बतको इलाकामा पनि बोलिन्छ ।


Like us on Facebook